काठमाडौँ – आर्थिक वर्षको अन्तिम समयमा विकास योजना कार्यान्वयनका लागि सम्झौता हुने प्रवृत्ति निरुत्साहन गर्न काठमाडौँ जिल्ला विकास समितिले अभियान सुरु गरेको छ।
चालू आर्थिक वर्षमा काठमाडौँमा रहेका ११ वटा नगरपालिकाका लागि जिविसका एक हजार ३०० योजना रहे पनि मङ्सिर मसान्तसम्म जम्मा ११ वटा उपभोक्ता समितिले योजना सम्झौता गरेकाले जिविसले यस्तो अभियान सञ्चालन गरेको हो।
बिहीबारदेखि सुरु भएको नगरपालिकास्तरीय योजना सम्झौता अभियानमा आइतबारसम्म ११ वटै नगरपालिकामा सम्पन्न गरिने जिविस काठमाडौँले जनाएको छ। शुक्रबारसम्ममा जिविसले काठमाडौँ महानगरपालिका, टोखा, गोकर्णेश्वर, कागेश्वरी मनहरा र बूढानीलकण्ठ नगरपालिकामा योजना सम्झौतासम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम सम्बन्धित नगरपालिकामा नै पुगेर सम्पन्न गरेको काठमाडौँ जिविसका आन्तरिक लेखा परीक्षण अधिकारी गोपालप्रसाद पोखरेलले जानकारी दिए।
साउनदेखि नै उपभोक्ता समितिले योजना सम्झौता गर्न सक्ने प्रावधान भए पनि आर्थिक वर्षको अन्त्यतिर चैत÷वैशाखमा मात्र योजना सम्झौता गर्ने र यसका कारण वर्षात्को पानीले योजना भताभुङ्ग हुन थालेपछि जिविसले योजना सम्झौताका लागि अभियान गर्नु परेको जिविसले जनाएको छ।
यसअघि जिविसले नगपालिकालाई पत्राचार, राजनीतिक दलमा जानकारी र सार्वजनिक सूचना प्रकाशन गरेर योजना सम्झौता गर्न आग्रह गर्दा पनि वैशाखमा आएर योजना सम्झौता हुन थालेपछि यस वर्षदेखि भने सम्बन्धित स्थानमा पुगेर स्थानीयलाई समयमा नै योजना सम्झौता गर्न आग्रह गरेको छ। आजको गोरखापत्रमा खबर छ |
Facebook Comments Box