काठमाडौँ । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा घरेलु टीम नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले हराएको हो ।
डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले लाओसलाई हराएको हो । नेपालको जितमा अनन्त र नवयुगले गोल गरेका थिए ।
नेपालले पहिलो हाफमा अनन्तको गोलमा सुरुवाती अग्रता लिएको थियो । राष्टिय टोलीबाट तेस्रो गोल गरेका अनन्तले यसअघि लाओसविरुद्धको खेलमा नै गोल गरेका थिए ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरेका थिए । यस्तै खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । घरेलु मैदानमा पहिलो गोल गरेका नवयुगले राष्टिय टोलीबाट आठौं गोल गरेका हुन् ।
नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले मगंलबार भुटानसँग खेल्नेछ ।
शनिबार लाओस र भुटान खेल्नेछन् । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
