तेह्रथुम । तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा एकघण्टा अघिबाट शुरु भएको आगलागीमा परी अहिलेसम्म पाँचवटा घर जलेका छन् । स्थानीय अग्नि सेढार्इंको घरबाट शुरु भएको आगलागीमा परी सँगै रहेका बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पूर्णरुपमा जलेको छ ।
हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीय वासु बरालले बताए । आगो बजारका अन्य घरतर्फ फैलिरहेको छ । आगो नियन्त्रणका लागि सँगै जोडिएका केही घर डोजर लगाएर भत्काउने प्रयास भइरहेको स्थानीयले टेलिफोनमा जानकारी दिएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर लगेर भत्काउन समेत समस्या भएको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । बजारमा पानीको अभाव भएको र हावा चलिरहेकाले आगो निभाउन समस्या भएको उनले बताए ।
आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन् । पाँचथरको फिदिमबाट नजिकको दूरीमा रहेकाले आगो निभाउनका लागि त्यहाँबाट थप प्रहरी आउँदै गरेको प्रहरी नायव उपरीक्षक ढकालले बताए । सदरमुकामस्थित म्याङलुङ नगरपालिका र लालीगुराँस नगरपालिकामा एक/एक वटा दमकल भए पनि सडक साँघुरो भएकाले त्यसतर्फ दमकल पठाउन नसकिएको प्रहरीले जनाएको छ । आगलागी भइरहेको संक्रान्तिबजार सदरमुकाम म्याङलुङबाट एक दिनको पैलद दूरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन । –कान्तिपुरबाट