विर्तामोड । केही समय अघि झापाको उत्तरपूर्वी गाविस बाहुन्डाँगीमा भारतबाट आउने जंगली हात्तीको तारबार एउटा भत्काउने प्रयास एउटा हात्तीले गर्यो । तर करेन्ट बगिरहेको उक्त तारबारबाट झट्का पाएपछि भित्र पस्ने ठाउँ खोज्दै उक्त हात्ती उत्तर तर्फ लाग्यो ।
बाहुन्डाँगीको सिरानमा तारबारबाट मानिस आवत जावत गर्ने एउटा ढोकाबाट उक्त हात्ती बाहुन्डाँगी छिर्यो । खेतमा लगाइएको धानको कुन्यु खाँदै उक्त हात्ती पश्चिमतिर लाग्यो ।
केही समय जंगली हात्तीको त्रासबाट केही आराम पाएका झापाबासी अहिले पुनः हात्तीको त्रासमा बसिरहेका छन् । पहिला जंगल वरपरका बासिन्दा जंगली हात्तीको त्रासमा बस्ने गर्थे । तर अहिले झापाको सदरमुकाम भद्रपुर तथा आसपासका क्षेत्रमा अचेल जंगली हात्तीको चहलपहल ह्वात्तै बढेको छ ।
त्यस क्षेत्रका बासिन्दा रातमा सुत्न पाइरहेका छैनन् । भद्रपुर १३ की राधादेवी पोखरेलका अनुसार जब साँझ पर्छ प्रायः हरेक साँझ जंगली हात्ती गाउँ पस्ने गरेको छ । उनले भनिन्, ‘पहिला त बाहुन्डाँगी तिर हात्ती आउँछ रे भन्थे । अहिले त गाउँ मै पस्न थाले । कतिबेला मार्छ भन्ने त्राही त्राही भइसक्यो ।’
भद्रपुरमा मात्र होइन, झापाका जंगल वरपरका मानव वस्तीहरु लगायत शहर नजिकका बाक्ला बस्तीहरुमा समेत जंगली हात्तीको आवागमन दैनिक बाक्लिन थालेको छ । जसका कारण स्थानीयबासी त्रसित भएर बस्न बाध्य छन् । भद्रपुर १३ कै निर्मल नेपालका मानिसले लगाएका बाली अहिले हात्तीको आहारा बन्न थालेको बताए । उनले भने, ‘हामीले त धान थन्क्याउन पाउँछौं जस्तो नै छैन ।’
जंगली हात्ती शहर तथा गाउँ पस्ने क्रम बढेपछि जिल्ला बन कार्यालय झापाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । विगतमा जंगल छेउका गाउँमा जंगली हात्तीको त्रास हुने गरेकोमा अचेल शहरका बासिन्दा समेत जंगली हात्तीको आक्रमणको त्रासमा बसेका छन् । हात्तीलाई नतर्साउन र उसको हिँडने बाटो नछेकिदिन जिल्ला बन कार्यालय झापाले सर्वसाधारणलाई भनेको छ ।
यतिबेला किसानले धानबाली थन्क्याउने बेला हो । त्यही धान खान जंगलबाट रैथाने हात्ती गाउँ पस्ने गरेको जिल्ला बन कार्यालय झापाका अधिकारीहरु बताउँछन् । गत एक महिनाको अविधमा बाहुन्डाँगी, शरणामति र गरामनीमा गरि रैथाने जंगली हात्तीको आक्रमणबाट तीन जनाको ज्यान गएको छ ।
हात्ती हिँडेको अथवा आफ्ना घर खेतमा आएको थाह पाए हात्तीलाई नतर्साउन र हिँडने बाटो नछेकिदिन जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले आग्रह गरेका छन् । उनले भने, ‘मानिसहरु ज्यादा नै हात्तीलाई खेदो गर्छन् । उ हिँडेको बाटो छेकिदिएन भने त सरासर गइहाल्छ । तर जाने बाटो नै नदिइ खेद्ने गरेकाले पो समस्या आउँछ ।’ उनले अहिले प्रायः सबै स्थानीय सञ्चार माध्यमबाट हात्ती आउँदा के गर्ने भन्ने सार्वजनिक सूचना जारी गर्ने गरिएको बताए ।
भारततिरबाट आउने हुलका हुल जंगली हात्तीको समूह आउने क्रम भने मेची नदी किनारमा लगाइएको तारबारका कारण रोकिएको जिल्ला बन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार झापा अचेल करीब एक दर्जनको संख्यामा जंगली हात्ती रहेका छन् ।