काठमाडौं । एकान्त स्थानमा सडक दुर्घटनामा परियो, सवारी साधन भने जलेको छ। यस्तो अवस्थामा कुन–कुन आकस्मिक सेवाका लागि फोन गर्ने गरी सम्झिनुपर्ने एम्बुलेन्स, दमकल र प्रहरी। यदि गम्भीर घाइते भइएको छ भने तीन–तीनवटा नम्बरमा फोन गरेर सेवा लिन सहज छ ? अवश्य पनि छैन।
![]()
तर, सरकारी योजना समयमै पूरा भए चाँडै नै यी तीनवटै सेवा एउटै नम्बरमा फोन गरी पाउन सकिनेछ। त्यत्ति मात्र होइन, आफैंले दुर्घटनास्थल बताउन नसके पनि ‘लोकेसन ट्रयाक’ हुनेछ र केही मिनेटमै उद्धार हुन सक्छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
सरकारले अघि बढाएको सबैखाले आकस्मिक सेवाका नि:शुल्क नम्बरलाई एकीकृत गर्ने प्रणाली अघि बढे बढीमा एक वर्षभित्र राजधानीवासीले यस्तो सुविधा पाउनेछन्। त्यसको एक वर्षपछि भने मुलुकभर यो सेवा पुग्नेछ। ‘हामीले यसका लागि धेरै तयारी र अध्ययन गरिसकेका छौं,’ आकस्मिक नम्बरहरूलाई एकीकृत गर्न प्राविधिक र परामर्श कार्य अघि बढाएको नेपाल दूरसञ्चार प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘परामर्शपत्रसमेत तयार भइसकेको छ।’
प्राधिकरणले सबैखाले आकस्मिक नम्बरलाई एकीकृत गरी एउटै नम्बरबाट यस्तो सेवा दिने परामर्शपत्रबारे बुधबारबाट सरोकारवाला र सर्वसाधारणको सुझाव संकलन सुरु गरेको छ। ‘४५ दिनसम्म सुझाव संकलन गरेर त्यसलाई समेटी सञ्चार मन्त्रालयमा पठाउँछौं,’ अर्यालले भने, ‘मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग छलफल गरी यसलाई अघि बढाउनेछ।’
आकस्मिक सेवाका लागि गृह मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले गृहको समेत सहमति र सहकार्यमा सबै नम्बरलाई एकीकृत गर्ने काम अघि बढाइनेछ। प्राधिकरणले तयार पारेको परामर्शपत्रमा एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला हेल्पलाइन, विपत सहयोगलगायतका सबैखाले आकस्मिक सेवा एउटै नम्बरमा कल गर्दा प्राप्त गर्ने व्यवस्था मिलाउने उल्लेख छ। ‘आकस्मिक सेवाको एकीकृत नम्बरका रूपमा ११२ नम्बरलाई प्रस्ताव गरिएको छ,’ परामर्शपत्रमा भनिएको छ, ‘दोस्रो प्राथमिकतमा भने ११९ नम्बरलाई राख्नु उपयुक्त हुनेछ।’