![]()
काठमाडौं । नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन। लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक अघि बढ्न नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्। चिनियाँ पक्षले यसबारे औपचारिक धारणा व्यक्त गरेको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
‘हामी चिनियाँ पक्षले प्रस्ताव गर्ने तिथि पर्खंदै छौं। कहिलेसम्म पर्खनुपर्ने हो थाहा छैन। चीनले छिट्टै मिति प्रस्ताव गर्ने जनाएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अर्थ र परराष्ट्र सचिवस्तरीय बैठक नभएसम्म चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसमेत हुने सम्भावना छैन। दुईपक्षीय सहयोग र सहकार्यसम्बन्धी सबै प्रक्रिया त्यही बैठकले तय गर्ने हो।’
गत भदौ ८ का लागि निर्धारित नेपाल(चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भएको थियो। बैठकमा भाग लिन चिनियाँ उपवाणिज्यमन्त्री गाओ यान काठमाडौं आउने भनिएको थियो। त्यसको चार साताअघि परराष्ट्र सचिवस्तरीय स्थायी संयन्त्र बैठक पनि स्थगन भएको थियो।
बैठक स्थगन भएपछि परराष्ट्र सचिव शंकरदास बैरागी चिनियाँलाई फकाउन बेइजिङ नै पुगेका थिए। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने निश्चित भएको भए दुवै बैठक हुने थिए। ब्रिक्स बैठकमा भाग लिन भारत जाँदा राष्ट्रपति सी कम्बोडिया र बंगलादेश भ्रमणमा गए पनि नेपाल आएनन्।