भद्रपुर । बंगलादेश सरकारले घोषणा गरेको दस हजार मेट्रिक टन चामल राहतमध्ये दोस्रो पल्ट एक लाख क्विन्टल चामल शनिबारदेखि उपलब्ध गराउन सुरू गरेकाे छ ।
शनिबार भारत बंगलादेश सीमा नाका फुलबारी बंगलाबन्दमा बंगलादेश सरकार विपद व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले नेपालका तर्फबाट उक्त चामल झापाका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई हस्तान्तरण गरे ।
शनिबार दसवटा ट्रकमा दुईसय ५० मेट्रिक टन चामल काँकरभिट्टा आइपुगेको हो । राहतमध्ये एक लाख क्विन्टल चामल एक महिना भित्र नेपाल अाइपुग्ने बताइएकाे छ । उक्त परिमाणको चामललाई झापास्थित नेपाल खाद्य संस्थानका गोदाममा सञ्चित गरेर राखिने निमित्त प्रमुख जिल्ला अधिकारी सापाकोटाले बताए । उक्त राहत चामल नयाँ आर्थिक बर्ष सुरु भएपछि भूकम्प प्रभावित क्षेत्रमा पुर्याउनका लागि ढुवानीको व्यवस्था मिलाउने समेत निमित्त प्रमुख जिल्ला अधिकारी सापाकोटाले बताए ।
उक्त राहतको चामल जिम्मा लिँदै झापाका निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले बंगलादेशी प्रधानमन्त्रीको सहयोगका लागि नेपाली पक्षका तर्फबाट धन्यबाद दिए । चामल हस्तातरण गर्दै बंगलादेशी अधिकारी रोहमानले नेपालको दुःखमा बंगलादेशको निरन्तर साथ रहने बताए ।