सुरूङ्गा । सुरुङ्गामा शुक्रबारदेखि प्रथम झापा जिल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानलाई सनसाइन फुटबल क्लबले टाइब्रेकरमा पराजित गर्यो । दोस्रो खेलमा महारानीगञ्ज मावि शनिअर्जुनले झिलझिले स्पोर्टिङ क्लबलाई ४–० ले पाखा लगायो ।
उद्घाटन खेलमा आयोजक र सनसाइनले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो । जसमा आयोजककी मनिका वाग्ले र सनसाइनकी सपना सुब्बाले गोल गरेका थिए । तर, टाइब्रेकरमा सनसाइनकी रमिका तामाङले गोल गर्दै टिमलाई सेमिफाइनल पुर्याइन् । अन्य खेलाडीले गोल गर्न सकेनन् ।
अर्को खेलमा महारानीगञ्ज माविले झिलझिलेमाथि एकोहोरो दबाब दिँदा ४–० गोलको नतिजा निस्केको थियो । पहिलो हाफमै ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि सम्झना लावती, रञ्जना चौधरी, लुना नेपाली र मोनिका मगरले गोल गरिन् ।
आठ टिम सहभागी प्रतियोगिताको उद्घाटन सांसद प्रेमबहादुर गिरीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ज्योति उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालगायतले बोलेका थिए । शनिबारको पहिलो खेल पारिजात फुटबल क्लब सालबारीविरुद्ध सताक्षीधाम स्पोर्टिङ क्लब र जलथल फुटबल क्लबविरुद्ध कनकाई खेलकुद प्रतिष्ठान ‘ख’बीच हुने संयोजक दुर्गा प्रसाईंले बताए ।