काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सर्वेक्षण सम्पन्न भइसकेका भूकम्प अति पैभावित ११ जिल्लाका भूकम्पपीडित परिवारलाई आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम छिट्टै उपलब्ध गराउने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
उक्त रकम बैंकमार्फत यथाशीघ्र उपलब्ध गराउन संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्षन्वयन एकाइलाई निर्देशन दिएको हो ।
आयोगले अनुदान सम्झौता गरिसकेको एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्राधिकरणले सबै वर्गका बैंकहरुमार्फत अनुदान रकम वितरणका लागि सम्बन्धित बैंकका एसोसियसनहरुसँग सम्झौता गरिसकेकाले जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकमार्फत अनुदान वितरणको कार्य अगाडि बढाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
यसैबीच बनमन्त्री अग्नीप्रसाद सापकोटाले घर निर्माणका लागि ९० प्रतिशत अनुदानमा छिटोभन्दा छिटो काठ उपलब्ध गराइने बताएका छन् ।