सुरुङ्गा ।
झापाको सुरुङ्गामा जिल्लास्तरीय महिला फुटबल खेल हुने भएको छ । यहि जेठ २८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले गर्न लागेको हो । बुधबार सुरुङ्गामा पत्रकार सम्मेलन गरि प्रतियोगिताकाे जानकारी गराएकाे हाे । प्रतियाेगितामा जिल्लाका ८ वटा महिला फुटबल टिम सहभागी हुनेछन ।
झापा जिल्लामा महिला खेलाडीहरुको अभावलाई पूर्ति गर्न खेल आयोजना गरिएको खेल आयोजक समितिका अध्यक्ष ज्योति उप्रेतीले बताए ।
प्रतिष्ठानले वार्षिक कार्य तालिकामा राखेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको पनि उनले बताए ।
खेल संयोजक दुर्गा प्रसाईंले प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार विजेता क्लबले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउनेछन् । खेलको उद्घाटन सांसद प्रेमबहादुर गिरीले गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपाध्यक्ष राजकुमार कट्टेलले जनाए । खेलमा प्रथम हुने टीमलाई प्रदान गरिने ५१ हजार रुपैंयाँ महिला सांसद अम्बिका राजवंशीले प्रायोजन गरेको प्रतिष्ठानका सहसचिव भीम भट्टराईले जनाए ।
प्रतियोगितामा सतासीधाम स्पोर्टिङ क्लब, झिलझिले, सनसाइन क्लब, सैनिक क्लब, केरखा, आयोजक र महारानीगञ्ज मावि सालबारीको टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिला फुटबलको विकासमा टेवा पुर्याउन र उनीहरुको भविष्य निर्धारण गर्न सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघको ध्यानाकर्षण गराउन अर्को उद्देश्य रहेको आयोजकका भीम भट्टराईले बताए ।