काठमाडौं । नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनले इसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेट लगायतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्याइ १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।