काठमाडौं । दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ। १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन्। आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ। यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ।’ उनी अब पूरै खेतमा तरीकारी लगाउने सोचाईमा छन्।
उनको घर नजिकको सहर राकम कर्णाली हो। राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ। सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन। मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो। ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ। प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ। चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिक थालेको छ।
पाँचथरको चियोभन्ज्याङ (नेपाल(भारत सीमा) देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ। पहाडै पहाड हुँदै पूर्व(पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ। च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन्। त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ।
मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए। उनका अनुसार यस खण्डमा सानाठूला गरि ६० वटा पुलहरू पर्छन्। तीमध्ये २५ वटा पुलको निर्माण कार्य सम्पन्न, ८ वटा निर्माणधीन र अन्यको टेण्डर प्रक्रिया अघि बढेको उनले बताए। ‘यस आर्थिक वर्षमा गोरखा र बाग्गुङको केही खण्ड कालोपत्रे गर्छौं,’ उनले भने। विभागका अनुसार पूर्वी खण्डमा पर्ने तमोर नदीमा १५ करोड रुपैयाँमा पुल निर्माण भइसकेको छ। जोरसालदेखि तमोरसम्मको ११ र गणेशचोकदेखि थप ९ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाले पाँचथर खण्डमा पर्ने सिवा, मुसेपा, फलामे, सिलसिले, मेवा र ओयामसहित ६ वटा खोलामा २० देखि ४० मिटरसम्म लम्बाइका पुल निर्माण क्रम जारी राखेको छ।
मध्यपहाडी लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा १ लाख जनसंख्या अटाउने महत्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहरी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो।