काठमाडौं । नेपाल प्रहरीले ५ केजी ६ सय ग्राम अवैध लागूऔषध कोकिन सहित दुई बिदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युक्रेन र थाइल्याण्डका महिलालाई ठूलो परिमाणको अवैध कोकिन सहित पक्राउ गरिएको जानकारी दिएको हो ।
पुष ६ गते दुवईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाइ लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केहि अमेरिकी डलर, थाई भाट र नेपाली रुपैया बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए ।
थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए । बरामद भएको कोकिनको अबैध बजार मूल्य १२ करोड भन्दा बढी रहेको र थप अनुसन्धान भइरहेको खनालले बताए ।
त्यस्तै व्युरोले ३३ किलो चरेशसहित १ विदेशी र ३ जना नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । बरामद गरिएको चरेशको अवैध बजार मूल्य १८ लाख भन्दा बढी रहेको व्युरोले जनाएको छ ।