काठमाडौं । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तामा देउवाले संशोधन विधेयक स्थगन गर्ने जनाउँदै नयाँ ढंगबाट छलफल अघि बढाएर सहमति खोज्ने प्रस्ताव गरेका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
![]()
सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए। संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न पुगेका देउवालाई संविधानविरोधी र राष्ट्रघाती संशोधनको विषयमा कुनै सहमति नहुने जनाउ दिएपछि स्थगन गरी नयाँ ढंगबाट सहमति खोज्ने प्रस्ताव गरेका हुन। भेटमा देउवाले गतिरोधका कारण निर्वाचनका लागि आवश्यक महŒवपूर्ण कानुन निर्माण गर्न अवरोध भएको भन्दै संसद् सुचारु गर्ने काममा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए। तर, ओलीले निर्वाचन कानुनको साटो संविधान मिचेर देश र जनताविरोधी संशोधन किन ल्याएको भन्दै संसदमा छलफल गर्नै अयोग्य विधेयकलाई फिर्ता लगेर निर्वाचन कानुन ल्याउन सुझाएका थिए।
आफूहरू लामो समयसम्म संसद्मा अवरोध जारी राख्ने पक्षमा नरहेको भन्दै ओलीले निर्वाचनका लागि आवश्यक कानुन निर्माणमा बाधक नहुने जनाउसमेत दिएका छन्। भेटमा ओलीले आफू प्रधानमन्त्री भएका बेला प्रमुख प्रतिपक्षको सहमतिविना संविधान कार्यान्वयन र निर्वाचनसम्बन्धी कानुन निर्माण नहोस्, हरेक काममा विधेयक मस्यौदाकै क्रममा प्रमुख प्रतिपक्षलाई सहभागी गराइयोस् भन्ने कांग्रेसको माग स्मरण गराउँदै किन तोडियो भन्ने प्रश्नसमेत गरेका थिए। ‘मेरो पालामा प्रमुख प्रतिपक्षलाई संविधान कार्यान्वयनका लागि बनाइने कानुन निर्माणमै सहभागी गराउने काम भयो, तपाईंहरूको माग पनि त्यही थियो, अहिले प्रमुख प्रतिपक्षी नै नभएको जसरी संविधानविरोधी र राष्ट्रघाती संशोधन विधेयक आफूखुसी रातारात किन दर्ता गरियो ?’ स्रोतका अनुसार देउवासँग ओलीको भनाइ थियो। ओलीले संशोधन विधेयकमा एमालेले कुनै सम्झौता वा सहमति नगर्ने भन्दै फिर्ता लैजान सुझाएका छन्।