काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको एम्बुलेन्स चालकका रूपमा ज्ञानकाजीले काम गर्न थालेको ११ वर्ष भइसक्यो। अधिकांश प्रसव पीडामा रहेका महिला लिएर अस्पताल आउनुको साथै नवजात शिशुलाई थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ। जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
![]()
‘काठमाडौंमा जाम धेरै छ। भर्खर जन्मिएका शिशुलाई सक्दो चाँडो उपचारका लागि लानुपर्ने हुन्छ,’ उनले आकस्मिक सेवामा हिँड्ने एम्बुलेन्सलाई अन्य सवारीसाधनले बाटो नछाड्ने गरेको गुनासो गर्दै भने, ‘प्राइभेट गाडीले छाडछन् तर सार्वजनिक गाडीले त आफू नै इमरजेन्सीमा भएझैं गर्छन्, साइरन बजाउँदा पनि टेर्दैनन्,’ उनले भने।
१८ वर्षदेखि एम्बुलेन्स चलाइरहेका ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका रत्न राईको अनुभव पनि उस्तै छ। ‘कति ठाउँमा त सडक नराम्रो छ नै, जाम पनि उत्तिकै बढेको छ,’ उनले भने, ‘थापाथलीमा त झन् चारैतिरबाट जाम हुन्छ। कलंकीबाट साइरन बजाएर हिँडयो भने त्रिपुरेश्वर आइपुग्न ४५ मिनेट लाग्छ।’ सडक व्यस्त हुने अफिस टाइममा (पिक आवर) मा आकस्मिक सेवा चाहियो भने त्यो बिरामीको दुर्भाग्यै हुने ठान्छन् राई।
राजधानीको विभिन्न अस्पतालमा कार्यरत एम्बुलेन्स चालकहरू जामले गर्दा दिक्क छन्। थापाथलीदेखि कालीमाटी–टेकु क्षेत्रमा प्रतिघण्टा कम्तीमा पनि २/३ एम्बुलेन्सको साइरन सुनिन्छ। तर, यही क्षेत्रमा एम्बुलेन्स चालकलाई धेरै गाह्रो हुने उनीहरूको अनुभव छ। ‘साइरन सुनेर पनि कसैले बाटो छाडदैन भने एम्बुलेन्सको के अर्थ भयो ?’ एक चालकले भने। आफ्नो गाडीको पछाडिको सिटमा छट्पटाइरहेका बिरामी देखेका चालकले लामो ट्राफिक जाममा फँस्दा अनुभव गर्ने पीडा अरू कसैले महसुस गर्न नसक्ने उनी बताउँछन्।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एम्बुलेन्स चालक शंकर महर्जन भन्छन्, ‘टिचिङ लानु पर्दा वीर अस्पतालदेखि जाम, पाटन लानु परे थापाथली र कुपन्डोल दुवैतिर जाम हुन्छ। बिरामीको मायाले म एम्बुलेन्स सकेसम्म बेस्सरी कुदाउँछु। तर, बाटो भए न कुदाउनु, जताततै गाडीको लस्कर भएपछि मैले कसरी छिटो पुर्याउने ?’