काठमाडौं । बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन्। तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ। पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो। आइतबार पखालाको उपचारका लागि आएका कोटिला स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले विनाउपचार फर्काइदिए। कोल्टी पुगेर १ सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो।
कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन। बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन। शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन। ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरे, स्टे«चर छैन भन्छन्। सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे।
कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमान्को सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन्। तर, चौकीमा औषधि नै भेटिएन। बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो। उनको टाउको दुख्न केही कम भएको छ अहिले।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ। तर, उनले बजारबाटै किन्नुपरेको छ। उनी एक उदाहरण मात्र हुन्।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन। ‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स (पन्जा) नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०/१२ औषधि मात्र छन्, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन्।’
नेपाल सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ। तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन्।