काठमाडौं । संविधान संशोधन प्रस्तावको स्वामित्व लिन अस्वीकार गर्दै आएको मधेसी मोर्चाले अब नरम नीति लिने भएको छ। शनिबार बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक गर्दै मोर्चा नेताहरूले आफूहरू संशोधन प्रस्ताव विरोधी भएको भनी बाहिर प्रचार भएकाले प्रस्ट पार्न आवश्यक परेको बताएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
![]()
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव परिमार्जन हुन सक्ने भनी दिएको अभिव्यक्तिलाई समर्थनसमेत गरेका छन्।
‘प्रस्ताव आपसी छलफल र सहमतिका आधारमा परिमार्जन गरिए संशोधन प्रस्तावको पक्षमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘कुनै पनि प्रस्तावलाई संसद्मा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान हो। यस्ता अलोकतान्त्रिक र निन्दनीय कार्य तत्काल रोक्नुपर्ने मोर्चाले ठहर गरेको छ।’
बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावलाई मोर्चाले समेत स्वामित्व नलिएको भन्दै प्रचार गरिरहेकाले त्यसलाई चिर्ने निर्णय गरिएको बताए। मोर्चा संशोधन प्रस्तावको विरोधी नभएको भन्दै उनले परिमार्जनको आवश्यकता औंल्याइएको टिप्पणी गरे।
‘एमालेले संसद्मा संशोधन प्रस्ताव लैजान नदिएर संसदीय लोकतन्त्रविरोधी काम गरेको छ भन्ने हाम्रो निर्णय रह्यो,’ उनले भने, ‘प्रस्तावले राष्ट्रघात गर्छ भन्ने उग्र नारा दिएर साम्प्रदायिक विभाजन तथा दक्षिणपन्थी कित्तामा एमाले उभिएको बैठकले ठहर गरेको छ।’
प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नहुने, बरु परिमार्जन गर्न आफू तयार रहेको भनी दिएको अभिव्यक्तिलाई मोर्चा बैठकले सकारात्मक रूपमा लिएको छ। आपसी छलफल र सहमतिबाट प्रस्ताव परिमार्जन भए सघाउने निर्णय गरेको रामसपा महासचिव केशव झाले बताए। ‘हामी प्रस्तावको विरोधमा छौं भन्ने सन्देश बाहिर गएछ, तर परिमार्जन हुनुपर्छ। परिमार्जन गर्नेबारे प्रधानमन्त्रीको प्रतिबद्धता आउनु सकारात्मक हो भन्ने बैठकले ठहर गरेको छ,’ झाले भने।