काठमाडौं । काठमाडौँ उपत्यकालाई व्यवस्थित र सवारी जामरहित बनाउनका लागि बबरमहल–त्रिपुरेश्वर सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ ।
![]()
काठमाडौँको बढी सवारीजाम हुने क्षेत्रमध्ये बबरमहल–थापाथली–त्रिपुरेश्वर एक हो । त्रिपुरेश्वरबाट सीधै माइतीघर पुगिने गरी निर्माण हुने यस फ्लाई ओभरबाट थापाथली भएर माइतीघर पुग्नुपर्ने बाध्यता हट्नुका साथै त्रिपुरेश्वर, थापाथली र माइतीघर सडक खण्डको जाम पनि पूर्णरूपमा हट्ने विश्वास गरिएको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
करिब एक किलोमिटर लम्बाइको यो फ्लाई ओभर निर्माणका लागि नौ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जय श्रेष्ठले यो सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।
यो ‘फ्लाई ओभर’ निर्माणका लागि जापानी सहयोग नियोग (जाइका)ले प्रारम्भिक डिजाइन नेपाल सरकारलाई बुझाइसकेको जानकारी उनले दिए। जाइकाले सो डिजाइन जापानी कम्पनी ‘निपन–कोई’बाट गराएको थियो । करिब नौ अर्ब रुपियाँको लगानीमा निर्माण हुने सो ‘फ्लाई ओभर’ जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिनेछ ।
प्रारम्भिक डिजाइनमा मात्र दुई लेनको प्रस्ताव गरिएको छ, जुन अहिले सो सडक खण्डमा गुड्ने सवारी साधनका लागि पर्याप्त हुन सक्दैन भन्दै उप–महानिर्देशक श्रेष्ठले चार लेनको डिजाइन गर्न सरकारले जाइकालाई अनुरोध गरेको जानकारी दिए। उनले चार लेनको डिजाइन जाइकाले चाँडै नै सरकारलाई बुझाउने बताए।