झापा । झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ ।
आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो ।
बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो ।
नगरपालिकाले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।
बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ ।
बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरपर र बजार क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभइ मापदण्ड विपरीत फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।