काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ ।
निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य नघट्ने स्पष्ट पारेको हो।
निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ।
निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।
लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ।
महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।
भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो ।
१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यो समयमा पनि भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन।