काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए। एसपी मैनालीका अनुसार पाण्डेले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रयोग गरि हत्या गरेको र अन्तिममा आफू झुन्डिएको अहिलेसम्म अनुसन्धानले देखाएको छ ।
किन पाण्डेले परिवारका सबै सदस्यको हत्या गरेर आफूले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए।
पाण्डे झुन्डिएको अवस्थामा फेला परेका हुन् भने अन्य मृतकको शरीरमा चोटपटक लागेको देखिएको छ ।
सोमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।
डाक्टरसहित प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।