झापा । विगत केही महिनायता झापामा भएका अपराधका घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन सफल इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडक खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले हत्या गरेर बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको पुरुषको शवको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त शवको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।
सर्वोत्कृष्ट प्रहरी घोषित भएपछि प्रहरी नायव उपरीक्षक कुँवरले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन र अपराध अनुसन्धानमा अझ बढी क्रियाशील हुन प्रेरणा मिलेको बताए।
पुरस्कृत भएका कुवरले लागूऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिने गरिएको छ।