काठमाडौं । प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’मा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
सिन्धुली कमलामाई नगरपालिका-६ घर भइ बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका बस्नेत र कार्की श्रीमान-श्रीमती हुन्।
उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिहरूलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
उनका अनुसार उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ।
उनीहरूले पीडितलाई डर धम्की र त्रास देखाई ब्याकमेल गरी मोलमलाई गर्ने गरेको उनले बताए।
प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।