काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयअन्तर्गत बढुवा समितिको शनिबार बसेको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द बढुवा सिफारिसको पहिलो नम्बरमा परेका छन्।
यस्तो दोस्रो नम्बरमा सिद्धिबिक्रम शाह, तेस्रोमा सुशिलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन्। सबैभन्दा अन्तिम ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन्।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार प्रकरणको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भनेर बर्खास्तीमा परेपछि पुनर्बहाली भएका दिल्लीराज विष्ट पनि एसएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन्। उनी १८औं नम्बरमा सिफारिसमा परेका छन्।