काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतवार दिउँसो धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। ‘दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।
राति भने वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। ‘राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’