काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बिस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँगको ठेक्का सम्झौता तोडिएको छ । नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । ठेक्का रद्दको निर्णय भए पनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।
![]()
“शुक्रबारको संचालक समिति बैठकमा रद्द सम्बन्धी निर्णय भइसकेको छ, अब कम्पनीलाई केही दिनभित्रै पत्र बुझाइनेछ,” संचालक समितिका एक सदस्यले भने । कम्पनीसँगको ठेम्का सम्झौता अवधि गतकात्तिक २४ मा नै सकिएको थियो । कम्पनीले पशुपतिको जग्गाकै माटो नभए काम नगर्ने अडान लिएपछि ठेक्का तोडिएको ती सदस्यले जानकारी दिए । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
सन् २०१३ को मार्च १७ देखि काम सुरु गरेको स्पेनी कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । भूकम्प र नाकाबन्दीको कारण देखाएपछि प्राधिकरणले गत कात्तिक २४ सम्मका लागि ठेक्का सम्झौता नवीकरण गरेको थियो ।
एसियाली विकास बैंक (एडीबी) ले ठेक्का लिएका कम्पनीसँग अव नवीकरण नगर्ने बेहोरासहितको पत्र पठाएको थियो । एडीबीले काम नगर्ने कम्पनीसँग अब पनि ठेक्का नवीकरण भएमा ऋण सहयोग बाट फिर्ता हुने पत्र पठाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ठेक्का तोड्न सहज भएको थियो ।