काठमाडौं । विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्याइसक्नुपर्ने निर्णय गरेको हो।
‘बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय हाताभित्र प्रवेश गराइसक्नु पर्नेछ,’ निर्णयमा भनिएको छ, ‘दिउँसो ४:३० बजेभित्र विद्यार्थीलाई आ–आफ्नो घर पुर्याई सवारीसाधन विद्यालय हाताभित्र प्रवेश गराइसक्नुपर्छ।’ कार्यालय समयमा सडकजाम नियन्त्रणका लागि यस्तो निर्णय गरिएको विभागले जनाएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
विभागको संयोजकत्वमा ट्राफिक प्रहरी निर्देशनालयका अधिकारीसमेतको उपस्थितिमा मंसिर २ मा उक्त निर्णय गरेको हो। विभागले निर्णय तत्काल कार्यान्वयन गर्न ट्राफिक निर्देशनालय, उपत्यका आयुक्तको कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्थाका सबै अञ्चल कार्यालयलाई निर्देशन दिएको छ।