ताप्लेजुुङ । जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका प्रमुख राजेन्द्रकुमार भट्टराई विरुद्ध पदीय मर्यादा उल्लङ्घन गरी स्थानीय बासिन्दालाई धाक धम्की देखाएको भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
मङ्गलबार फुङ्लिङ नगरबासी सर्वसाधारणहरु सयौँको सङ्ख्यामा जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्ला न्याधिवक्ता भट्टराईमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई उजुरी दिएका हुन् ।
जिल्ला न्याधिवक्ता भट्टराईले बजार क्षेत्रका सर्वसाधारणलाई पटक–पटक पदीय हैसियत देखाउँदै धम्की दिने गरेको, खाना नमिठो खुवाएको भन्दै होटल व्यवसायीलाई मुद्दा लगाइदिने धम्की दिएको, फलफूल खरीद गरेपश्चात कुहिएको भेटेपछि फलफूलका व्यापारीलाई पनि मुद्दा लगाइदिने, जेल हाल्ने जस्ता आरोप उजुरीपत्रमा उल्लेख गरिएको छ ।
यस्तै महिलाहरु माथि अभद्र व्यवहार गरेको, उपभोग्य सामग्री खरीद गरी त्यसको शुल्क भुक्तानी नगरेको भन्दै प्रजिअसँग आवश्यक कारबाही गर्न माग गरिएको छ ।
यता जिल्ला न्यायधिवक्ता भट्टराई उपर कारबाहीको माग गरी परेको उजुरीलाई सम्बन्धित निकायमा जानकारी गराउँदै कारबाहीको प्रक्रिया अघि बढाउने प्रजिअले आपूmहरुलाई आश्वासन दिएको स्थानीय बजारबासी इन्द्र श्रेष्ठले बताए ।
उता प्रजिअ पाण्डेले घटनाबारे अध्ययन गर्ने बताए । यसअघि पनि न्यायाधिवक्ता भट्टराईले प्रहरी र अदालतमा दर्ता भएका मुद्दाका प्रतिवादीहरुलाई डर, त्रास देखाउँदै र धम्कीको भाषासमेत प्रयोग गरी बयान लिने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।
मङ्गलबार भने सर्वसाधारणहरु भट्टराई विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुग्न अघि झण्डै डेढ घण्टा जति सरकारी वकिल कार्यालय घेराउ समेत गरेका थिए । सर्वसाधारणले जिल्ला न्यायाधिवक्तालाई तत्काल कारबाही नगरे आपूmहरु थप आन्दोलित हुने चेतावनी समेत दिएका छन् ।