झापा । सार्वजनिक शौचालयको अभाव खड्किरहेको झापा बिर्तामोड पश्चिम बस स्ट्याण्डमा सीपी पार्टी प्यालेसले सोमबारदेखि सर्वसाधारणका लागि आफ्नै शौचालय प्रयोग गर्न दिन थालेको छ।
पश्चिम बस स्ट्याण्डमा बसबाट ओर्लने तथा बसमा यात्रा गर्ने मानिसहरूले शौच गर्न जान निकै कठिनाइ हुने गर्थ्यो। कतिपय मानिसहरू खुल्ला स्थानमा शौच गर्न बाध्य हुन्थे। तर सोमबारदेखि सर्वसाधारणका लागि त्यो कठिनाइ समाप्त भएको छ।
पश्चिम बस स्ट्याण्ड दक्षिणमा रहेको उक्त पार्टी प्यालेसले अरुबेला आफूले प्रयोग गर्ने बेला मात्र शौचालयमा लगाएको ताला खोल्ने गरेको थियो। अब भने दिनभर शौचालयको ढोका सर्वसाधारणका लागि खुल्ला राखिएको पार्टी प्यालेसका प्रोपाइटर रितेन खरेलले बताए।
झापाको बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालयको माग विगतदेखि गरिँदै आएको हो। तर अहिलेसम्म सार्वजनिक शौचालय बन्न सकेको छैन। काठमाडौंको महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले दिएको सोचका आधारमा आफ्नो प्रयोजनका लागि बनाइएको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिइएको खरेलले बताए।
बिर्तामोडमा अन्य संघसंस्थाले पनि आफ्ना शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनका तयारी गरिरहेका छन्।