झापा । झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका ५ का ओमप्रकाश यादव, एक जना १४ वर्षीय बालक, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र अर्का एक १५ वर्षीय बालक रहेका छन्।
प्रहरीले झापाका बिर्तामोड, सुरुंगा, अर्जुनधारा, बुधबारेलगायत स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकलसमेत बरामद गरेको छ।
बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका मोटरसाइकल चोरी गर्ने ८ जना र बरामद मोटरसाइकल सार्वजनिक गरेको हो।

मोटरसाइकल चोरी गर्नेमा ग्यारेज सञ्चालकसमेत रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।
मोटरसाइकल चोरी गरेर पहाडका विभिन्न स्थानमा लैजाने पनि गरिएको प्रहरीको भनाइ छ। चोरी गरेर मोटरसाइकलको नम्बर फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाएर सडकमा सञ्चालन गर्ने गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए।
प्रहरीका अनुसार मध्यरातको समयमा मोटरसाइकल हुने गरेको छ। चोरीका घटना बढेपछि प्रहरीले घटनामा संलग्नलाई खोज्न विशेष अभियान नै सञ्चालन गरिरहेको छ। उजुरी अनुसार चोरी भएका केही मोटरसाइकल बरामद गर्न तथा चोरीमा संलग्नलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।