काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रस्ट भएको बताएका हुन् ।
कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्नका लागि युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको उनले बताए ।
उनले सरकारसंग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उदेश्यका साथ आएको बताए ।
संघीयतालाई कार्यान्वयन र बलियो बनाउनका लागि बितिय हस्तान्तरणलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताए ।
उनले मुलुकको बिकासका लागि राष्ट्रिय गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने जिकिर गरे । राष्ट्रियसभाको अर्को बैठक आजका लागि बोलाइएको छ ।