काठमाडौं । ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिका आधारमा सामान्यतया वनबाट पाइने काठको सदुपयोगलाई मात्र सम्झने गरिन्छ । वनमा काठमात्र नभई बहुमूल्य वनस्पति, पात–पतिङ्गर, जरा, फल, फूल अनि पानीको स्रोत पनि हुन्छ । काठको उपयोगलाई मात्र बढी ध्यान दिइने गरेकै हुनाले होला– वन संरक्षणको प्रसङ्ग आउँदा सबै क्षेत्रका मानिसको काठमै धेरै चासो रहनेगरेको। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
![]()
नेपालको वनक्षेत्रको कुरा गर्दा कुल क्षेत्रफलको कम्तीमा ४० प्रतिशत वन क्षेत्र राख्नुपर्छ भन्ने नीतिले प्राथमिकता पाउँदै आएको छ । हिमालमा खासै वन र वनस्पतिको नरहे पनि पहाड र तराईमा भने वनजङ्गलको घनत्व बढी नै पाइन्छ ।
नेपालको विद्यमान वनको अवस्था अध्ययन गर्दा तराईको कुल वनमा रहेका रूखको सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी बुढा पाइएका छन् । भएका वनजङ्गलमा अमेरिका र दक्षिण अफ्रिकाबाट विभिन्न कारणले भित्रिएका वनमारा झारका कारणले वन, वनस्पति, घाँसेमैदान नाश हुँदै छन् । नेपालका वनमा नयाँ रूख उम्रने वातावरण प्रतिकूल बन्दै आएको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपरका सामुदायिक वन, मध्यवर्ती क्षेत्रमा वनमारा प्रजातिका झारले वन्यजन्तुको बासस्थानमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ ।
वनमारा झारलाई वन विनाशकको रूपमा लिन थालिएका बेला चितवनका सामुदायिक र कबुलियती वनका उपभोक्ता भने तिनै झारबाट आय आर्जनका काममा लागेका छन् । यो कामबाट उनीहरू वन जोगाउनुका साथै त्यस्ता वनमारा झारका पात सङ्कलन गरेर पैसा कमाउने उद्यमसमेत गरिरहेका छन्। चितवनको कालिकानगर गैरीबारी गाउँका च्वार खोलामा गिट्टी कुटेर जीवन गुजरा चलाउँदै आएका बासिन्दा अहिले वनमारा झारको सदुपयोगबाट मासिक हजारौँ रुपियाँ कमाउन सफल भइरहेका छन् । यहाँका महिलाले समूह बनाएर वनजङ्गलको संरक्षण गर्ने र वनमाराका पात सङ्कलन गरेर तिनलाई निश्चित मात्रामा पोलेर चारकोल बनाएर बेच्न थालेका छन् ।