भद्रपुर । यति बेला झापाका विभिन्न स्थानमा युवाहरु स्वतस्फुर्त रुपमा आफ्नो ठाउँ सफा गर्न जुटेका छन् ।
उनीहरुले झापाका मुख्य शहरहरु बिर्तामोड, भद्रपुर, दमक, चारआली लगायतका स्थानमा सरसफाई कार्यक्रमहरु गर्दै आएका छन् ।
सरसफाईमा जुटेका प्राय युवाहरु सामाजिक संजालका कुनै न कुनै ग्रुपसँग आवद्ध छन् ।

यसै क्रममा झापा सदरमुकाम भद्रपुरका युवाहरु पनि विगत पाँच हप्ता देखि नगर सरसफाईमा जुटेका छन् ।
फेसबुक ग्रुप मार्फत जोडिएका हेल्पिङ हेण्डस्, दार्ही ह्याङ ग्रुप, नेपलिज टिन्स, गर्लस राइजिङ रुम र स्थानीय केही युवाहरुको सहभागितामा सुरु भएको अभियानको पाँचौं हप्तामा स्थानीय नेसनल मेरिगोल्ड स्कूलको चायल्ड क्लवका ७० जना भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
अभियान सुरु गरेको पाँचौं हप्ता पुगे सँगै उनीहरुले अभियानलाई अझ सशक्त बनाउन ११ सदस्यीय “भद्रपुर नगरपालिका सरसफाई समिति ” पनि गठन गरेका छन् ।
आशिष त्रिपाठीको संयोजकत्वमा बनाइएको उक्त टोलीमा उपाध्यक्ष निकास पाण्डे, सचिव मिराज पोख्रेल, सह(सचिव आनन्द शाह, कोषाध्यक्ष अनामिका गुरूङ लगायत ११ सदस्यीय समिति गठन भएको हो ।
यस सँगै उनीहरुले सरसफाईमा अवश्यक सामान किन्नका लागि स्थानीय सँग सहयोग संकलन पनि सुरु गरेका छन् ।
स्थानीयको सहयोग नभएको गुनासो सुनाउँदै संयोजक त्रिपाठीले भने अब हामी नगरपालिकालाई दवाव दिएर भएपनि प्रत्येक पसल अघि अनिवार्य डस्टविन राख्ने गरि अभियान चलाउँछौं ।