काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् ।
सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरुद्धमा अधिकारी सर्वोच्च अदालत गएका थिए ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय नगर्न र पदमा रहेर काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशसँग उनी आज राष्ट्र बैंकको कार्यालयमा गएर हाजिर भएका हुन् । काममा फर्किएका गभर्नर अधिकारीले सर्वोच्चको आदेश आफ्नो लागि भन्दा पनि समग्र सिस्टमको लागि आएको बताए ।
कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने उनले प्रतिबद्धता जनाए । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा समन्वय गरेरै अघि बढ्ने उनको भनाइ छ ।