विर्तामोड । विर्तामोड नगरपालिका भित्र भएर बग्ने अदुवा खोलालाई ब्यवस्थित बनाउन ८८ करोड रुपैंयाको गुरु योजना अघि सारिएको छ ।
कुबेर श्रेष्ठको अध्यक्षतामा बनाइएको ९ सदस्यीय ‘अदुवा खोला संरक्षण तथा व्यवस्थापन समिती’ ले उक्त गुरु योजनाको जिम्मा लिएको छ ।
नगरपालिका भित्र ८ किलोमिटर क्षेत्रमा रहेको यस खोला अहिले शहरमा जम्मा भएका फोहोर फ्याक्ने, ढल मिसाउने ठाउँको रुपमा प्रयोग हुँदै गएपछि उक्त खाेलाको सौन्दर्य फर्काउनका लागि यसलाई ब्यवस्थित गर्न लागिएको विर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
योजनाको पहिलो चरणमा नगरपालिकामा पर्ने खोला क्षेत्रमा बोरिङ गरेर पानीको बहाब बढाइने बताइएको छ । साथै खोलाको बिचमा ड्याम बनाएर पानीलाई ब्यवस्थित बनाइने पहिलो चरणको योजनामा उल्लेख गरिएको छ ।
‘पहिलो चरणमा बिर्तामोड नगरपालिकाबाट ४० लाख रुपैंयाँ बिनियोजन भएको छ, नगरपालिकाका नायब सुब्बा मेघराज बाँस्तोलाले भने, ‘यो रकमले तटबन्ध, बोरिङ गरेर जल उत्पादन लगायतको कार्यक्रम गरिने छ ।’ उनले नगरमा बसोवास गर्ने नागरिकले सहयोग गरे योजना सहजै कार्यान्वयन हुँने बताए ।
२०२१ सालमा नापी भएर खोलाको भाग छुट्याइएको जग्गा अधिग्रहण गर्ने तयारी गरिएको अदुवा खोला संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कुबेर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले तयार पारेको प्रस्तावनामा ८ किलोमिटर लामो खोलाको भागको दाँया र बाँया ढल निर्माण गर्ने, दुबैतिर सडक बनाउने, खोलामा फोहोर फ्याँक्न नहुनेगरी तारजाली लगाउने लगायको काम गर्ने उल्लेख छ ।
यसैगरी खोलाको दिर्घकालिन बिकासका लागि कर्मचारी राखेर निरन्तर सरसफाइ गर्ने लगायतका कार्यक्रम प्रस्तावनामा छन् ।