काठमाडौं । नेकपा एमालेका नेता एवम् तीनजना पूर्वअर्थमन्त्रीहरुले अराजक अर्थमन्त्रीको दवावमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर प्रधानमन्त्रीले गलत निर्णय लिएको बताएका छन्।
आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वअर्थमन्त्रीहरु युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले गभर्नर अधिकारीमाथि गरिएको कारबाहीलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ-समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन,’ उनीहरुले भनेका छन्,’ अघिल्लो सरकारबाट
नियुक्त भएकै कारण व्यावसायिक रूपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारका कोपभाजन भएका दर्जनौं घटनाहरू छन् । गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रूप देखाएको छ ।’
गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने कुरा कांग्रेसले नचेतेको पनि उनीहरुको आरोप छ।
‘देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो । तर, गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । तसर्थ, यो सरकारले प्रायोजित रूपमा गभर्नरमाथि शुरूगरेको कार्वाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ,’ उनीहरुले भनेका छन्।