काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयविरुद्ध आक्रोश पोखेका छन्।
आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।
‘हिजोमात्रै हामीले देख्यौं । थुतुनाभरी रौँ भएको मुसाले धान खायो, यौटै रौँ नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान खायो । उसैले रौँ नभएकोलाई कारबाही भयो,’ उनले भने,‘राष्ट्रबैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।’
ओलीले अगाडि भने, ‘अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थशास्त्री, अर्थविद राष्ट्रबैंक भित्रै डेपुटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छे । उनलाई निस्कासित गरियो । माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे ।’