सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राति इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मीदेवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न निज लक्ष्मीदेवी थापा सहित ४ जनालाई पक्राउ गरि सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डेरा गरि बस्ने ३२ बर्षीया लक्ष्मीदेवी थापा, निजको छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका-७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका-८ झापाका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् ।
चैत्र १४ गते राति १० बजे लक्ष्मी देवी थापाको कोठामा बम बिष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडका सहितको प्रहरी टोलीले घाइते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारका लागि अस्पताल पठाइ अनुसन्धान सुरु गरेको थियो ।
घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोटपश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी)लाई इटहरी-२ स्थितमा लुकुछिपि बसेको अवस्थामा र घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको हो भने उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरेको हो ।
प्रहरीले घटना स्थलबाट बिष्फोटपश्चात क्षति भएका सामान र पक्राउ परेका ब्यक्तिहरुबाट CFN लेखिएको सानो, ठूलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको IME रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको हो ।
पक्राउ परेकाहरुको जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरि घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।