झापा । १८ महिने बालिकाको बलात्कारपछि हत्याको आरोपितलाई कठोर सजायको माग गर्दै मेची-महाकाली बुहारी संयुक्त आवाज समूहले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ।
गत फागुन २७ गते मोरङको सुन्दरहरैंचा नगरपालिका -७ गणेशपुरस्थित १८ महिने बालिकाको बलात्कारपछि हत्याका आरोपितलाई फाँसीको सजायको माग गर्दै मेची-महाकाली बुहारी समूहले शनिबार झापाको विर्तामोडमा बृहत र्यालीको आयोजना गरेको हो।
विर्तामोडको दुर्गा मन्दिरबाट शुरु भएको र्याली अदुवा खोलासम्म पुगेर मुक्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो।
महिला हिंसा बन्द गर, बलात्कारी खुलेआम बलात्कृत गुमनाम, उठ नारी अति भो सही बस्दा क्षति भयो, नारी सामान होइन सम्मान हो, हत्यारालाई फाँसी देउ लगायतका नारा लगाएका थिए।
विरोध प्रदर्शनमा मेची-महाकाली बुहारी समूह झापा उपाध्यक्ष गंगा भट्टराईले बलात्कारीलाई फाँसीकै सजाय दिनका लागि कानुन संशोधन हुनुपर्ने बताइन्।
प्रहरीले बालिका हत्याका दुई आरोपितलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जनाइसकेको छ।