झापा । तराईमा खेलिने शुक्रबारको होली पर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सडक सुरक्षा योजना तयार पारेको छ।
योजना अनुसार जिल्लाभर ६३ जना ट्राफिक प्रहरी खटिने छन् भने कम्तीमा २३ वटा टोली विभिन्न स्थानमा परिचालन गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले जानकारी दिए।
कार्यालयले होलीको समयमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने चेतावनीसमेत दिएको छ।
होलीको समयमा ट्राफिक नियम उल्लंघन जो कोहीलाई कारबाहीको दायरामा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक चापागाईंले बताए ।
‘होलीको समयमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, हेल्मेट नलगाउने, लाइसेन्स नबोक्ने, मोटरसाइकलमा तीन जना चढ्नेलाई कारवाही गर्नेछौं,’ चापागाईंले भने।
होली पर्वलाई दुर्घटनारहित पर्वका रुपमा मनाउन सबैले सहयोग गर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । रंगहरुको पर्व होली खेल्दा सकेसम्म सामाजिक मर्यादा कायम गर्न प्रहरी आग्रह समेत गरेको छ ।
खासगरि दुई पांग्रे सवारी साधनलाई कडाइका साथ चेकजाँच गरिने ट्राफिक प्रहरीले जनाएको छ।