झापा । झापा बिर्तामोडका अर्जुनकुमार मैनाली एक सफल युवा उद्यमीको रुपमा चिनिन्छन्। चाहे सामाजिक काममा होस् वा कुनै आर्थिक काम, उनी त्यस्ता हरेक काममा अग्रसर हुने गरेका छन्।
तर अहिले उनी धेरै चिन्तित देखिन्छन्। खासगरि देशमा देखिएको अर्थतन्त्रको विकराल अवस्थाको प्रत्यक्ष असर उनीलगायत सबै व्यवसायीले भोगिरहेका छन्।
बुधबारको भेटमा उनले भने, ‘यस्तो अवस्था छ कि टुक्रुक्क बसेर क्वाँ-क्वाँ रुनु जस्तो छ।’
अहिले यो अवस्था देशले नै भोगिरहेको छ। बैंकमा नगद अभावले अहिले देशको आर्थिक अवस्था झन् विकराल बन्न पुगेको छ।
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका मैनालीले अहिलेको विकराल अर्थ व्यवस्थाका पाँच कारणः
१. बैंकले निक्षेपको अनुपातमा लगानी गर्न नपाउनुः अहिलेको सरकारभन्दा अगाडिको सरकारका बेला बैंकमा आएको रकमको ९५ प्रतिशत बैंकले लगानी गर्न पाउने अवस्था थियो। मैनालीका अनुसार अहिले १२० रुपैयाँ बैंकमा आयो भने ९० रुपैयाँ मात्र बैंकले लगानी गर्न पाउने अवस्था छ। जस्ले गर्दा अर्थ व्यवस्था नै असन्तुलित बनेको छ।
२. अन्तर्राष्ट्रिय उर्जा संकटले निम्त्याएको महंगीः खासगरि विश्वमा भएका विभिन्न द्वन्दवका कारण अन्तर्राष्ट्रिय स्तरमा उर्जा संकट भएर सामाग्रीको मूल्य बढेको छ। जस्का कारण नेपालमा सामान अति महंगो मूल्यमा बेच्नु परेकाले अहिलेको अवस्था आएको मैनाली बताउँछन्। आयात गरिने सामानको मूल्य बढ्दा उत्पादिन बस्तुको पनि मूल्य आकासिएको उनले बताए।
३. रेमिट्यान्सको अभावः विगतको तुलनामा अहिले रेमिट्यान्स रकम घटेको मैनालीले बताए। उनका अनुसार विभिन्न चोरी बाटो हुँदै विदेशमा रहेको पैसा नेपाल आउने गरेकाले अर्थतन्त्रमा त्यस्को प्रत्यक्ष असर परेको छ।
४. सरकारले खर्च गर्नै सकेनः सरकारले जति खर्च गर्नुपर्ने हो त्यति गर्न नसकेकाले देशको आर्थिक अवस्था भयावह बन्न पुगेको उनको विश्लेषण छ। मैनाली भन्छन्, ‘सरकार नै अन्योलमा छ जस्तो देख्छु। यस्को विश्लेषण गरेर समाधानका उपाय खोज्नुपर्छ।’
५. निर्यातलाई भन्दा आयातलाई प्रोत्साहन गरियोः नेपालमै बस्तु उत्पादन र ती बस्तु विदेश निर्यात गर्नका लागि प्रोत्साहन सरकारले गरे अहिलेको अवस्थामा सुधार हुने मैनाली बताउँछन्। उनले भने, ‘सामान आयात गरेर ट्याक्स लिन्छु भन्ने सरकारको सोच नै गलत छ। यस्मा सुधार हुनुपर्छ।’