सविता उप्रेती बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका ४० जना बालवालिकाहरुको स्याहारसुसार मात्र गर्दिनन्, उनी त्यस्ता बालबालिकाकी शिक्षिका, विद्यालय सञ्चालिका र खास अभिभावक पनि हुन् ।
उनको दिनचर्या तिनै ‘अटिजम’ भएका बालबालिका स्याहार्दै बित्ने गर्छ । तर उनको अनुहारमा किञ्चित झन्झट, दुःख र निराशाका रेखा भेटिँदैनन्, बरु खुसी र हँसिली देखिन्छिन् । समाजमा हेयभावले हेरिएका, परिवारको उपेक्षाको पात्र बनेका, अभागी कर्म भएका भनिने र पारिवारिक ममता नपाएर दुःखदायी जीवन व्यतित गरिरहेका निर्दोष र निष्कपट बालबालिका सम्हाल्न र तिनको असली अभिभावकत्व निभाउन पाएकोमा उनी दङ्ग छिन् ।
सात वर्षअघि राष्ट्रिय अपाङ्ग कोषको जागिर खाँदै पढ्दै गर्दा जीवनका लक्ष्य अनेक थिए । अचानक एकदिन फोहरको डङ्गुरमा फालिएको पुस्तकमा अक्षर चिन्ने कोशिस गरिरहेको अवोध बालक देखेर उनी अचम्मित मात्र भईनन् जीवनलाई तीनै बौद्धिक अपाङ्गता भएका बालवालिका प्रति समर्पित गर्ने निर्णय पनि गरिन् ।
उनले भनिन्, ‘समाजमा आफ्नो भूमिका खोज्ने होइन देखाउने हो, शारीरिक अपाङ्गता भएकाले त जीवनमा धेरै गर्न सक्छन् भने हामी सवलाङ्गहरुले किन सक्दैनौँ ?’ ‘मानिस जन्मँदा सबै उस्तै प्रकृतिले जन्मने हो, भगवानले सवैलाई सबै चिज बराबर दिएकै छन्, तर आफुसँग भएको क्षमतालाई फरकरुपमा उपयोग गर्नुपर्छ, यो क्षेत्रमा लाग्न पाएकोमा गर्वको अनुभूति हुन्छ ।’ उनको यो बोलाई निकै ओझिलो छ । केही बर्षअघि डिभी परेर अमेरिका जान पाएको अवसरसमेत उनले त्यागिन् ।
करीब १६ वर्षअघि दोलखाको नाम्दुबाट उनी राजधानी भित्रिएकी हुन् । उनले भनिन्, ‘आफ्ना लागि त जो पनि बाँचेकै छ नि समाजका लागि केही गर्नुपर्छ ।’
उनले अटिजम भएका बालबालिकाहरुलाई आवश्यक साईकोथेरापीसहितको उपचार, स्याहार र आवश्यक शिक्षाका लागि भारतबाट विशेष तालिम पनि लिएकी छिन् । उनको केन्द्रमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालवालिकालाई विशेष स्याहारको व्यवस्था छ । विशेष उपचार गरेपछि बालबालिकाको जीवन सहजमात्र भएको छैन, पुर्नजन्म नै पाएका छन् ।