चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरिन्छ । निकुञ्ज प्रशासनले नेपाली सेनाको सहकार्यमा साइकल, हात्ती, जीप र डुंगामार्फत् गस्ती गर्छ । याे कार्यमा पछिल्लो समय महिला सहभागिता पनि बढ्दै गएको छ ।
कसरा हात्तीसारमा माहुतेको रुपमा हात्तीको हेरचाह गर्दै आएकी अमृता महतो वन्यजन्तुको संरक्षण होस् या गणना नियमित रुपमा गस्तीमा जाने गर्छिन् । मेघौली घर भएकी उनले हात्ती चराउने, हात्तीको गोठ सरसफाइ गर्ने, दाना खुवाउने र गस्ती गर्ने काम गर्न थालेको पाँच वर्ष भयो ।
कसरा हात्ती सारमा ६ वटा हात्ती छन् । एउटा हात्तीको हेरचाहमा तीन जना हात्तीसारे खटाइन्छ । सुरुमा उनले हात्ती प्रजनन केन्द्र खोरसोरमा काम गर्थिन् । ‘खोरसोरमा हात्तीको तालिम लिएर हात्तीको कमाण्डर भएर सौराहा गएँ । खोरसोरमा ६ महिना बसेँ । सौराहामा एक वर्षजति बसे’, उनले भनिन् ।
सौराहामा पनि हात्तीलाई सिकाउने, हात्तीको गोठालो जाने, घाँस काटेर ल्याउने र हात्तीको स्याहारसुसार गर्ने गरेको उनले बताइन् । पछिल्लो पटक उनले कसरामा गर्न थालेको चार महिनाजति भयो । उनी भन्छिन्, ‘हात्ती चराउन लैजाँदा जंगली हात्ती धुव्रे, रोनाल्डो भेटिन्छ । बाघ र गैंडा पनि भेटिन्छ ।’
जंगली हिंस्रक हात्ती पालुवा हात्तीको नजिक आएपछि आफुले हात्तीलाई तर्काएर हिँडाल्नुपर्ने उनी बताउँछिन् । ‘जंगली हात्ती नजिकै आएको देखेपछि आफ्नो हात्ती भगाउनुपर्छ । जंगलभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्छ । महिलाले गर्नै नसकिने भन्ने चाँहि होइन’, उनले भनिन् । हात्तीसारे चौविसै घण्टा ड्युटिमा खटिनुपर्छ ।
परिवारमा श्रीमान, दुई छोरी, एक छोरा र सासु छन् । श्रीमानले गाउँघरतिरै सवारी चालकको काम गर्छन् । श्रीमानसँगको सहमतिमा नै आफूले हात्ती हेरचाहकाे काम गरिरहेको उनी बताउँछिन् । चाडपर्व र विशेष काम परेको बेला घर जाने गरेको उनले बताइन् ।
तालिम लिएर काम सिकेपछि हात्तीको हेरचाह गर्न कुनै कठिनाई नहुने उनी बताउँछिन् । चाडपर्व र विशेष काम परेको बेला घर जाने गरेको उनले बताइन् ।
तालिम लिएर काम सिकेपछि हात्तीको हेरचाह गर्न कुनै कठिनाई नहुने उनी बताउँछिन् । उनले बिहान हात्तीको गोठ सफा गर्छिन् । त्यसपछि हात्ती लिएर उनी घाँस काट्न जान्छिन् । घर आएपछि हात्तीसारे मिलेर घरआगन सफा गर्ने र खाना पकाउने गर्छन् ।
कहिलेकाँही दिनभरी र रातभर पनि हात्ती गस्तीमा हिँड्नुपर्ने उनी बताउँछिन् । एक पटक गस्ती गर्दा पाँच देखि १२ वटासम्म हात्ती प्रयोग हुन्छन् । सिउ गस्तीमा जाँदा धेरै हात्ती लगिन्छ ।
चोरी सिकारी नियन्त्रण र जंगलमा मरेका वन्यजन्तुको अनुगमन गर्दा सिउ गस्ती गरिन्छ । आवश्यकताका आधारमा निकुञ्जको सबै क्षेत्रमा गस्ती जानुपर्ने उनले बताइन् ।
उनी गैंडा गणना गर्दा पनि गस्तिमा खटिएकी थिइन् । त्यतिबेला २२ दिनसम्म हात्ती लिएर गस्तिमा गएको उनले बताइन् । गैंडा गणनामा खटिएका ३० वटा हात्ती सम्मिलित एउटा समूहमा उनी एक्लो महिला माहुते थिइन् ।
तीन वर्षअघि कसरा हात्तीसारमै काम गर्दा देवीकली र तमोरकली हात्तीको गोठालो जाँदा धुव्रे हात्तीसँग जम्काभेट भएको उनले सम्झिइन् ।
‘घडगाई पोष्टमा धुव्रेसँग जम्काभेट हुँदा हामी ज्यान बचाउन हात्तीबाटै हामफालेर पोष्ट भित्र छिरेका थियौँ’, उनले भनिन्, ‘धुव्रे दौडिएर हामी चढेकै हात्तीतिर आइरहेको थियो । हात्तीमाथि नै बसिराख्दा हाम्रो ज्यान जोखिममा पर्छ भन्ने भएपछि हामी हामफालेर पोष्टमा गएर ज्यान बचायौँ ।’
धुव्रे हिंस्रक जंगली हात्ती हो । यसले अहिलेसम्म नेपाल र भारतका गरी १६ मान्छेको ज्यान लिइसकेको छ ।