दमक । आफ्ना सहकर्मीको हत्यारालाई कारवाही गर्न माग गर्दै झापाका यातायात मजदुरहरुले सोमबार पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन्।

गत मंसिर ९ गते बिहीबार बिहान रामेछापको निगलापानीमा गाडीमा जलाएर हत्या गरिएको अवस्थामा मृत भेटिएका झापा लखनपुर-१ का २६ वर्षीय विशाल खड्काको हत्यारालाई कारवाही गर्न माग गर्दै लखनपुरस्थित पाडाजुंगी चोकमा यातायात मजदुर तथा स्थानीयबासीले चक्काजाम गरेका हुन्।
खड्काको लाश सडकको बीच भागमा राखेर प्रदर्शनमा उत्रिएका स्थानीय तथा यातायात मजदुरहरुले प्रशासनले हत्याराको पहिचान गरि कारवाही गर्नु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए।

हत्यारालाई कारवाही नगरिए शसक्त आन्दोलनमा उत्रने नेपाल यातायात मजदुर संघ झापाका वरिष्ठ उपाध्यक्ष विश्वास कुमार काश्यपले बताए। उनले भने, ‘घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गर्नु पर्छ होईन भने हामी शसक्त आन्दोलनमा उत्रन बाध्य हुने छौँ।’
मजदुरहरुले हत्या गरिएका खड्कालाई शहिद घोषणा गर्नु पर्ने, उनको परिवारलाई राहत स्वरुप १० लाख प्रदान गर्नु पर्ने, परिवारको शिक्षामा राष्ट्रले हेर्नु पर्ने, यातायात क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने लगायत माग राखेका छन्।
खड्काको शव त्रिवि शिक्षण अस्पताल काठमाडौँमा पोष्टमार्टम गरि सोमबार बिहान झापा ल्याईएको हो।