भद्रपुर । क्रियाशिल पत्रकार महिला समुह झापा द्वारा आयोजित “एकल महिलाको न्यायमा पहुँच” विषयक अन्र्तक्रिया कार्यक्रममा एकल महिला भएकै कारणले भोग्नु परेका समस्या र न्यायको ढोका ढक्ढकाउन पुग्दा सम्म आईपर्ने झन्झटका विषयमा सहभागीहरुले आ आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले एकल महिला लाई उसले पाउनु पर्ने न्याय दिन घर परिवार देखि नै वाधा अवरोध हुने गरेको प्रष्ट पार्दै यस्तै घरेलु वाधा अड्चनले गर्दा सहजै प्राप्त हुने हक अधिकार पनि छिनिने गरेको बताइन् ।
यसैगरि परिवर्तनका लागि महिलाकी अध्यक्ष राधा खनालले गाउँ गाउँमा रहेका एकल महिला जो बढी मात्रामा परिवार र समाजबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा पिडित छन् उनीहरु समक्ष राज्यका कार्यक्रमको पहुँच पुग्न नसकेको विचार व्यक्त गरिन् ।
संस्थाकी अध्यक्ष माया पकुवालको सभापतित्वमा भएको कार्यक्रममा वीना राई, चन्दा देवि दाहाल, विष्णुमाया कटुवाल, तुलसा खतिवडा लगायतले एकल महिला जब सम्म आफु एक्लै न्यायको ढोका ढक्ढकाउन जान सक्दैनन तब सम्म एकल महिला अन्यायमै परिरहने बताए ।
१६दिने लैङ्गिक हिंसा विरुद्ध अन्तराष्ट्रीय अभियानको अवसर पारेर आयोजना गरिएको उक्त अन्र्तक्रिया कार्यक्रमको सञ्चालन पत्रकार गंगा बराल र स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष शुशीला संग्रौलाले राखेकी थिइन् ।