झापा । झापा दमकका एक पुरुषको आफ्नै श्रीमतीको योजनामा हत्या भएको खुलासा भएको छ।
दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी छन् ।
उनलाई सहयोग गरेको अभियोगमा बिराटनगर–४ का २९ वर्षीय सरोज भण्डारी पनि समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।
‘श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको भेटिएको छ’ एसपी थापाले भने, ‘भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्राटुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।’
शव धरानमा लगेर व्यवस्थापन गरेको झण्डै दुई महिनापछि गत साता धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र उनको टाउको र त्यसको भोलिपल्ट त्यहीँ शरीर भेटिएको थियो ।