झापा । झापाका विभिन्न स्थानमा बमजस्तो देखिने वस्तु राखेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको हो।
प्रहरीले घटनाका मुख्य योजनाकार भनिएका गौरादह २ झापाका ३८ बर्षीय सुमनकुमार कार्की, कनकाई ३ का ४१ बर्षीय भीष्म थापा, दमक ९ का ५० बर्षीया देवि बास्कोटा (गुरागाई), कनकाई ३ का ५८ बर्षीय कुमार भनिने यमदत्त सिटौलालाई सार्वजनिक गरेको छ । सिटौला कोटिहोममा पुजारीको काम गर्दै आएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शिवसताक्षी १ का ३२ बर्षीय सरुण भनिने सिलकुमार सामेखाम, संखुवासभा खाँदबारी १० घर भइ सुन्दरहरैँचा ६ बस्ने २९ बर्षीय मनमोहन दाहाल, गौरीगन्ज ३ का ३२ बर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह ५ का ३३ बर्षीय प्रदिप थापा र गौरिगन्ज ३ का ४५ बर्षीय विजयकुमार दास हलुवाईलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । उनीहरुलाई बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए ।
गत माघ ९ गते झापाको बिर्तामोडको पश्चिम बसपार्क र १३ गते दमक ५ स्थित सिवान चर्चको गेटमा प्रहरीले बमजस्तो शंकास्पद बस्तु फेला पारेको थियो ।
ती बस्तु प्राप्त भएको स्थानमा हिमाल सुरक्षा परिषदको नाममा पर्चा समेत फेला पारेको थियो । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्नेलगायत माग राखेर पर्चा बनाएका थिए।