काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बृद्वि भएको पारिश्रमिक, भत्ता एवं सुबिधा रकम भूकम्प पीडित राहत कोषमा दिने बताएका छन् । सोमबार दिउँसो ट्विट गर्दै उनले बृद्धि भएको रकम कोषमा पठाउन संसद सचिवालयमा निवेदन दिएको बताएका छन् ।
उनले ट्विट गरेका छन्, ‘बृद्वि भएको पारिश्रमिक, भत्ता एवं सुबिधा रकम भूकम्प पीडित राहत कोषमा पठाउनको लागि संसद सचिवालयमा निवेदन दिएँ ।’
उनले निवेदनमा भनेका छन्, ‘पुनर्निर्माणका कार्यहरु अगाडि नबढिरहेको र भूकम्प पीडितहरुले अझैपनि राज्यद्वारा घोषित राहत पाउन सकेका छैनन् । यस अवस्थामा आफ्नो तलवभत्ता आफैंले बृद्धि गर्नु संसदीय अभ्यास विपरित समेत रहेको छ ।’
संसद्ले आइतबार सुविधासम्बन्धी विधेयक छोटो प्रक्रियाबाट पारित गरी संसद्का पदाधिकारी तथा सदस्यको सुविधा ह्वात्तै बढाएको थियो । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सदनमै दफाबार छलफल टुंग्याउँदै संसद् बैठकले सांसदहरूको घरभाडा, बैठक भत्ता, यातायात सुविधा र भ्रमणभत्ता वृद्धि गरेको थियो ।
पारित विधेयकअनुसार सांसदहरूले आवास सुविधाबापत मासिक १८ हजार, सञ्चार सुविधाबापत ३ हजार, धारा बिजुलीका लागि २ हजार पाउने छन् । यसअघि सांसदले २०५२ को ऐनअनुसार मासिक ६ हजार ५ सय घरभाडा, टेलिफोनको २ हजार, पत्रपत्रिकाका लागि ३ सय र धारा बिजुलीको १ हजार २ सय ४८ रुपैयाँ मात्रै पाउँथे ।
उनीहरूले पाउने मासिक विशेष भत्ता एक हजार र अतिथि सत्कार खर्च मासिक एक हजार र फर्निचरका लागि एकमुष्ट १५ हजार रुपैयाँ र एक जना स्वकीय सचिव (शाखा अधिकृतस्तरको) को सुविधा यथावत् छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।