बिर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरीक्षक पुष्पा कार्की, सहायक महिला विकास निरीक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडा प्रदान गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षीय मोतिलाल बाँस्तोला, १०२ वर्षीय विष्णुमाया बाँस्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षीय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षीय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ बरगाछीका १०६ वर्षीय भिमलाल बराल,वडा नम्बर ८ कि १०० वर्षीय तिलमाया मगर र वडा नम्बर ९ का १०१ वर्षीय रत्नबहादुर थापा रहेका छन् । नगरप्रमुख शिवाकोटीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर आशिर्वाद लिएको बताए । आमा बाबु भगवान रहेको भन्दै उनले सबैले वृद्ववृद्वालाई माया र सम्मान गर्न आग्रह गरेका छन् । नगरप्रमुख शिवाकोटीले यसअघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन पनि नगरपालिकाले सय वर्ष भन्दा मुनिका जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिए ।
यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले सय वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई नगरसम्म जानका लागि झण्झट हुने भएकाले घरघर मै पुगेर सम्मान गरिएको बताइन् । उनले घर परिवारमा समेत वृद्ववृद्वालाई सम्मान गर्नुपर्छ भन्ने उर्जा थपिने भएका कारण पनि यो सम्मान कार्यक्रम महत्वपुर्ण हुने जिकिर गरिन् । जेष्ठ नागरिक भनेको राज्यको अत्यन्त महत्वपुर्ण,अनुभवी र गहना भएकोले सम्मान गर्नुपर्नेमा जोड दिइन् ।
नगरपालिकाको आर्थिक वर्ष २०७८(७९को महिला,वालवालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शिर्षकमा रहेको नियमित कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो । नगरपालिकाले यसअघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन परोपकार बृद्वाआश्रममा रहेका ३४ जना वृद्ववृद्वालाई समेत पोषिलो खाने कुरा वितरण गरेको थियो।