विर्तामोड । क्रिएटिभ नेप्लिज युथ (सीएनवाई)ले कन्काईस्थित माईधार क्षेत्रमा रहेका बृद्धबृद्धालाई लत्ताकपडा तथा खाद्य सामग्री वितरण गरेको छ ।
तिहारमा देउसीभैलो खेलेर उठाएको रकमले शनिबार माईधारको राधाकृष्ण मन्दिरमा रहेका बृद्धबृद्धालाई जाडोको समयमा न्यानो पार्न ओड्ने मझेत्रो, फलफूल र बिस्कूट वितरण गरिएको हो ।
९७ वर्षीय नरपति अधिकारी, ९२ वर्षीय बलराम आचार्य, ८५ वर्षीय कृष्णसरण भण्डारी, ८४ वर्षीया तुलसा सिटौला, ८४ वर्षीया रेनुका घिमिरेसहित ४० जनालाई सो सामग्री वितरण गरिएको क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाले बताए । उनले भने ‘१५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेका छौ ।’
उक्त क्षेत्रमा कुटी बनाएर बस्ने उनीहरुले सामग्री पाउँदा आशिर्वाद दिँदै खुसी ब्यक्त गरेका थिए । युथले एक कार्यक्रमको आयोजना गरेर उक्त सामग्री हस्तान्तरण गरेको छ । गुरु श्यामशरण खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई युथका सदस्य प्रमोद सिटौलाले सञ्चालन गरेका थिए ।
युथका चारआली बिर्तामोड सम्पर्क समिति संयोजक सन्देश तिम्सिनाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष धमालले गरेका थिए । सोही कार्यक्रममा संस्थाका संस्थापक सदस्य मनिष कर्णले २० वटा मझेत्रो सहयोग गरेका थिए ।